बर्तमान नेपालको राजनितिक परिप्रेक्षलाई विश्लेषण गरेर हेर्दा अति संक्रमित अवस्था बाट गुज्रिरहेको छ भन्ने तथ्य स्पष्ट हुन्छ। कुनै पनि समाज वा देशको परिबर्तनको शुरुको अवस्था संक्रमणयुक्त भए पनि त्यस्तो अवस्थामा लिएको निर्णय र चालेको कदमले त्यो समाजको भविष्य असल वा खराब के हुने हो भन्ने कुरा निर्धारण गर्दछ। यहि तथ्यलाई आधार मानेर अहिले उठिरहेका बिभिन्न मुद्दाहरु माथी अध्ययन गर्दा के महशुस हुन आउँछ भने यी मुद्दाहरुको सकरात्मक र सहि तरिकाले छिनोफानो गरिएन भने भविष्यमा यसले देश र जनताहरुमा नकरात्मक असर पर्न जाने देखिन्छ। साथै यसले एउटा अवसरको सृजना पनि गरेको छ जसको सकरात्मक र सहि उपयोग गर्न सके एक आधुनिक नेपालको ईतिहास निर्माण गर्न सक्नेछ।
नेपालको मात्र होईन, विश्वकै ईतिहास हेर्ने हो भने कुनै पनि बिशेष परिबर्तन वा प्राप्तिको पछाडी एक साहसि, निडर तथा बलिदान गर्न सक्ने कुनै एक व्यक्तिको हात हुन्छ। आईपरे आफ्नै जिवन दाऊमा लगाउन तयार ती योद्धाहरुको कारण नै ती असिम परिबर्तनहरु सम्भव भएका छन् जसका कारण आज उनिहरुको देश र समाजले उन्नति गर्ने वातावरण र प्रेरणा पाउने अवसर पाए। उदाहरणका लागी नेपालकै जंगबहादुर राणालाई लिन सकिन्छ। उसमा भएको दुस्साहस र निडरताका कारण नै एउटा साधारण मान्छे श्री ३ सम्म भएर तत्कालिन राजपरिवार माथी नै हैकम जमाउन सफल भए। उनले स्थापना गरेको त्यो अवसरलाई उनका सन्तानले १०४ बर्ष सम्म उपभोग गरे। तर उनी र उनका उत्तराधिकारीहरुको अदुरदर्शीता, जनता प्रतिको संकुचित भावना, पारिवारिक लालच, स्वार्थ आदिका कारण नै उनीहरु पतन हुन पुगे।
राजदरबार हत्याकाण्ड पछि पूर्व राजा ज्ञानेन्द्रले पनि एउटा सुनौलो अवसर प्राप्त गरेका थिए। तर बिभिन्न घटनाक्रमहरुको भुमरीमा फसेर बिचलित भएका ज्ञानेन्द्रले पनि त्यो सुनौलो अवसर को सहि उपयोग गर्न सकेनन्। जनताहरुलाई साथमा लिएर अघि बढ्नु पर्ने अवस्थामा त्यहि अदुरदर्शीता, संकुचित भावना र स्वार्थले पूर्ण सल्लाहकार मण्डलीको कुराको पछि दौडेर उनले पनि त्यो सुनौलो अवसर गुमाए। तर पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिनै पर्छ, आफु पछि हटेरै भएपनि उसले देशलाई ठुलो संकट बाट बचाए। उनको त्यहि एक बलिदानले अनेकौं अवगुणहरुलाई ओझेलमा पारेको छ।
तत्कालिन बेलायति साम्राज्य सँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल जंगबहादुर र उनका उत्तराधिकारीहरुले बेलायतिहरुको ढाँचामा आफ्नो सोंचलाई अलिकति मात्रै भए पनि फराकिलो बनाएर जनताहरुलाई साथ लिएर अघि बढेको भए आज सम्म पनि राणाहरुको शासन चलिरहेको हुन्थ्यो भन्ने कुरामा दुई मत नहोला। त्यसै गरी, पूर्वराजा ज्ञानेन्द्रले पनि जनताको बिचमा गएर नागरिक सम्मान लिएर मात्रै जनताको विश्वास जित्न सकिन्छ भन्ने गलत सोंच र उनका सल्लाहकार मण्डलीको आत्मघाती उक्साहटको पछि नलागेको भए आज उनि राजाकै स्थानमा हुनेथिए भन्दा अत्त्युक्ती नहोला। नागरिक सम्मान को प्रसंगमा, त्यो त मेहनेत बिनाको फल थियो। उनले त्यस्तो केहि गरेकै थिएनन् जसको कारण उनले जनताहरुबाट सम्मान प्राप्त गरुन्। एउटा अंग्रेजी कथाको सन्काहा राजालाई अदृश्य लुगा लगाएको भान पारेर नाङ्गै शहर घुमाए जस्तो त्यो त उनका चम्चाहरुले रचेको एउटा फगत नाटक थियो ताकि उनिहरुको स्वार्थ पुरा होस्।
वास्तवमा देश छ त जनताहरु छन्। जनताहरु छन् त देश छ। एकातर्फ देश बिनाको जनता हुनु कति पिडादायी हुन्छ भन्ने कुरा प्यालेस्टीनिहरु र नेपालकै हाम्रा दाजु-भाई, दिदी-बहिनीहरु भुटानी शरणार्थीभएर बाँच्नु पर्दाको पिडा सुने पुग्छ भने अर्को तर्फ जनता बिनाको देशको कुनै अर्थ नै रहेन। त्यसैले एउटा देश को अस्तित्त्वको लागी जनता हुनु आवश्यक छ र जनताहरुको अस्तित्त्वको लागी देश हुनु जरुरी छ।
माओवादी जनयुद्ध बाट केहि असलकुराहरु प्राप्त भएका छन्। ती मध्ये शासन प्रणालीको सम्प्रुभता र सर्वाधिकार जनतामा मात्र निहित छ भन्ने कुरा प्रमाणित गर्नु। तर माओवादी कै अगुवाहरुको अदुरदर्शीता को कारण, छिटो राजनितिक उद्धेश्य प्राप्त गर्न हेतु समाज भित्र गुम्सीएर रहेको प्रादेशिक, जातिय विभेदको पाटोलाई प्रयोग गर्नाले आज देश र जनता एक ढिक्को हुन नसक्ने अवस्थामा पुगेको छ। यसको भरपुर फाईदा नेपाल बिरोधी तत्त्वहरुले उठाउने जमर्को गरिरहेका छन्। तर नेपालीहरुको एक बिशिष्ट गुण "अनेकता मा एकता" को कारण नै अहिले सम्म देश बाँचिरहेको छ।
विभिन्न प्रादेशिक र जातिय मुद्दाहरु मध्ये अति कठिन भनेको मधेसी मुद्दा नै हो भन्नेकुरा सबैलाई जाहेर भएकै हो। अन्य जातिय र प्रादेशिक मुद्दाहरुको हल राज्यले गर्न सक्छ तर, मधेसी मुद्दाको हल न माओवादी एक्लैले गर्न सक्छ नत एमाले र काँग्रेसले नै। यस मुद्दाको हल मधेशमा बस्ने जनताहरुले मात्र गर्न सक्छन्। मधेश मुद्दा भुसको आगो झै भित्र-भित्रै मधेश भित्र सल्कि सकेको छ। त्यसैले यो आगो कुनै पनि शक्ति प्रयोग गरेर निभ्न सक्दैन। त्यसको एउटै विकल्प हो 'राष्ट्रियता' सम्बन्धि 'शिक्षा' तथा 'प्रशिक्षण'।
यसै संग सम्बन्धित एउटा प्रसंग कोट्याउन चाहन्छु। केहि महिना अघि, काम बिशेषले सप्तरि जिल्लाको एउटा गाउँ पुगेको थिएँ। मलाई देख्ना साथ एउटा भाईले उसैको भाषामा के भन्यो कुन्नी तर 'पहाडिया' भन्ने शब्द मात्रै बुझेँ। त्यो 'पहाडिया' शब्दले मलाई खोई किन हो अतिनै बिझायो। त्यसैले सोधिहालेँ, "भाई तिमि चाहिँ को?"। उसले जवाफ फर्कायो, 'मधेशी'। मैले फेरी प्रति प्रश्न गरें, 'पहाडिया' र 'मधेशी' भनेको के हो थाहा छ तिमिलाई? उसलाई नेपालि बोल्न आउदैन रहेछ तर अलि-अलि चाहिँ बुझ्दो रहेछ भन्ने कुरा उसँगै उभिएको अर्को भाईले भनेपछि थाहा पाएँ। नेपाली बुझ्ने भाईलाई भनें, "भाई तिम्रो साथीलाई सम्झाई देऊ, पहिले हामी नेपाली हौं, त्यसपछि मात्रै पहाडमा बस्ने 'पहाडे' र मधेशमा बस्ने 'मधेशी'। प्रादेशिक हिसाबले म पनि मधेशमा जन्मेर हुर्केको मान्छे। म पनि जन्म सिद्ध 'मधेशी' नै हुँ। 'पहाडे' र 'मधेशी' शब्दहरुलाई जातिय र रँगको हिसाब मा हेर्नु हुँदैन। मैले भनेको कुरा तिमीले यो भाईलाई सम्झायौ भने उसले पनि अरु कसैलाई सम्झाउनेछ। यसो गर्यौं भने तिमी-हामी मिलेर भविष्यमा घट्न सक्ने ठुलो दुर्घटनालाई रोक्न सक्छौं। बुझ्यौ?" ती भाईहरुले मेरो कुरा कति बुझे त्यो थाहा भएन तर मधेशमा जातिय भेद कति गहिराई सम्म पुगेको छ भन्ने कुरा चाहिँ प्रष्ट भयो।
यसर्थ हालको अति महत्त्वपुर्ण आवश्यकता भनेको मधेश लगायत विभिन्न प्रादेशिक मुद्दाहरुलाई राष्ट्रियकरण गरी प्रादेशिक र जातिय विभेदको अन्त्य गर्दै वैज्ञानिक पद्धति बाट राज्य संरचनाको निर्माण गर्नु हो। भुलवश भनौं या प्रयोगात्मक रुपमै भएपनि समाज र देश खण्डिकरणको जुन बिजारोपण भएको छ, त्यसको अन्त्य गरेर आधुनिक नेपालको संरचना गर्ने मुख्य अभिभारा मधेशले प्राप्त गरेको छ र यस्तो गौरवशालि कार्यको सम्पादन तथा कार्यान्वयन पनि मधेशले नै गर्नेछ भनि नेपाली जनताहरुले अपेक्षा गरेकाछन्। सम्माननिय राष्ट्रपति डा. रामवरण यादव झैं दलिय, जातिय र प्रादेशिक स्वार्थहरुलाई त्यागेर राजनितिक दलहरु, सामाजिक संघ-संस्था तथा सरकारी निकायहरुको अगुवाईमा गाउँ-गाउँ पुगेर राजनैतिक, शैक्षिक तथा नैतिक प्रशिक्षण द्वारा राष्ट्रिय भावना जागृत गरी/गराई देश र जनतालाई एक ढिक्का बनाएर राख्न सक्ने केहि योद्धाहरु अघि सरे अवश्य नै नयाँ आधुनिक नेपालको परिकल्पना सार्थक हुने थियो।
(function(i,s,o,g,r,a,m){i['GoogleAnalyticsObject']=r;i[r]=i[r]||function(){
(i[r].q=i[r].q||[]).push(arguments)},i[r].l=1*new Date();a=s.createElement(o),
m=s.getElementsByTagName(o)[0];a.async=1;a.src=g;m.parentNode.insertBefore(a,m)
})(window,document,'script','//www.google-analytics.com/analytics.js','ga');
ga('create', 'UA-74105130-2', 'auto');
ga('send', 'pageview');